Covid-19 Update

Saturday, March 2, 2019

जन्मदेखिकै युद्ध: कहिले-कहिले भयो भारत र पाकिस्तान द्वन्द्व ?


बेलायतीहरूबाट १९४७ अगस्ट १४ मा पाकिस्तान र १५ मा भारत मुक्त भएका हुन् । एउटै साम्राज्य रहेको भए पनि बेलायतले आफूले छोड्ने समयमा पाकिस्तान र भारत बनाएर बीचमा काश्मीरको धर्का समेत राखेर गएका थिए । पछि बंगालदेश समेत बनेर तीन मुलुकको रूपमा सँगै छन् । लामो शासनमा परेको भारत र पाकिस्तानको विकास उनै बेलायतीहरूले त्यतिबेलैदेखि गरिदिएका थिए । रेलमार्गदेखि सडकसम्मको पूर्वाधार र व्यवस्थित बन्दरगाह समेत उनीहरूले तय गरिदिएका थिए ।
जन्मदेखिकै युद्ध: कहिले-कहिले भयो भारत र पाकिस्तान द्वन्द्व ?
भारत स्वतन्त्र हुनेनै भएपछि महिनौं राजनीतिक बहस चल्यो र अन्तिममा बेलायतीले भारत र पाकिस्तालाई दुई भागमा चिरा पारेर छोडिदियो । तर त्यसको २४ वर्षपछि त्यो दुई भाग चिरा तीनमा परिणत भयो । भारत, पाकिस्तान र बंगलादेश । बंगलादेश पूर्वी पाकिस्तानको रूपमा सन् १९७१ सम्म थियो । २०७१ को अन्त्यमा बंगलादेश छुट्टै मलुक बनेको हो ।

हिन्दु बाहुल्य भारतमा मुस्लिमहरू अल्पमतमा पर्नसक्ने भन्दै छुट्टै राज्य माग भए । अनि त्यहीअनुरूपको तयारी भएपछि भारत र पाकिस्तान बने । पहिला पाकिस्तान सिर्जना भएपछि भारत स्वतन्त्रताको निर्णय बेलायतीले लिए । जसले ठूला राज्य पञ्जाव र बंगाल समेत रेखांकनसहित विभाजित भए । त्यही विभाजनले अहिले संकट सिर्जना गरेको छ । त्यही बीचमा काश्मीरलाई त्यसै छोडिएको थियो ।

भारतभित्र रहेको भनिए पनि त्यसको भूभाग कता लैजाने निर्णय त्यहाँका महाराजालाई नै जिम्मा लगाइएको थियो । यद्यपि त्यो भाग पाकिस्तानले दाबी गर्दै आएको भएपनि महाराजाले भारतमा गाभिदिए । त्यसपछि द्वन्द्व थप चर्किन थाल्यो । हुन त भारत र पाकिस्तानबीच विभाजन भएको दुई महिनादेखि नै आपसी द्वन्द्व आरम्भ भएको थियो । पछि लाइन अफ कन्ट्रोल (एलओसी) बनाए तर पनि त्यस क्षेत्रमा नै हमला भइरहेका छन् ।

त्यही द्वन्द्वले करोड भन्दा बढी नागरिक शरणार्थी बनेका छन् । लाखौं मानिसले मृत्युवरण गरिसके । भारत-पाकको द्वन्द्वमा नेपाली पनि लडेका छन् । भारतीय सेनामा रहेका नेपाली गोर्खा लडे । कैयन्ले ज्यान गुमाए । त्यही समयदेखि नै मेलमिलापको प्रयास पनि भएको हो । तर सफलता चुम्न सकेन । त्यो विभाजनबारे कसैले बोल्न पनि सकेनन् । सबै स्वतन्त्रताको पछि लागे । तर जब विभाजन भयो त्यसपछि भारत र पाकिस्तानको सम्बन्ध सधैं तिक्ततामा परिणत भयो । दुवै पक्ष अझै एक अर्कामा हार्दिकता अपनाउन सक्दैनन् । त्यही प्रकारका सिनेमाहरू बने जसले भारत-पाकिस्तान सम्बन्धलाई थप तिक्ततातिर लग्यो ।

दुवै मुलुकका नागरिकमा उग्रराष्ट्रवाद हुर्कंदै गयो । हुन पनि भारत र पाकिस्तानबीचको द्वन्द्व र तिक्तता विश्वकै सबैभन्दा लामो आपसी द्वन्द्व हो । यो तनावलाई भूराजनीतिक मात्र होइन भूगोलको बाँडफाँटको तनावको रूपमा लिइन्छ । यही तनावकै कारण दुवै मुलुकले आ-आफ्नो पारमाणविक अस्त्र नै विकास गर्दै अघि बढे । पाकिस्तानसँग दुईहजार परसम्म मार हान्न सक्ने आणविक हतियार छ भने भारतसँग पाँच हजार परसम्म हान्न सक्ने ।

दुवैले आफ्नो प्रतिरक्षा पनि उत्तिकै बढाएका छन् । यसरी दुवै मुलुक पारमाणिक शक्तिको रूपमा विकसित भएका छन् । यद्यपि पाकिस्तान आर्थिक हिसाबमा भारत भन्दा कमजोर छ । यी दुई मुलुकको तनावले यो क्षेत्र नै असजिलोमा पर्ने गरेको छ । अनि तनाव क्षेत्रीय विवादभन्दा दुईपक्षीय समस्या यहाँ बढिरहेको देखिन्छ । जसको मारमा क्षेत्रीय सहकार्य पनि परेको छ ।

सार्कले जुराउने भेट र हार्दिकता

यस क्षेत्रलाई समृद्ध बनाउन सहकार्यमा जुट्ने लक्ष्यसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थापना १९८५ मा भयो । स्थापनादेखि नै सार्क सधैं यिनै दुई मुलुकको तिक्तताको छायामा पर्दै आएको छ । हजारौं प्रतिबद्धता सार्कमा भएका छन् तर कार्यान्वयन कमजोर अर्थात प्राय :शून्य । यसरी दुईपक्षीय छायामा पर्ने सार्कले कहिलेकाहीं यसमा नेताहरूलाई दुईपक्षीय सम्बन्धमा ब्रेक थ्रु गर्ने काम पनि गरेको छ ।

शिखर सम्मेलनले समयसमयमा दुई देशीय सहकार्य गरिदिने र गाँठो फुकाउने काम भएका छन् । भारत र पाकिस्तानको अविश्वासको कारण एक अर्का मुलुकमा सीधा आउजाउ समेत गर्न सकिन्न । यो दुई मुलुकबीच व्यापार पनि छ । खेलकुद (क्रिकेटमा लोकप्रियता) पनि हुन्छ तर आपसी सम्बन्ध अझै पनि नजिक हुन सकेको छैन ।

सन् २००२ को काठमाडौंको ११ शिखर सम्मेलनको स्मरण हुन्छ । भारत पाकिस्तानको तनाव कतिसम्म थियो भने भारतको भूभाग नभई चिनियाँ भूभागबाट पाकिस्तानका तत्कालिन राष्ट्रपति परबेज मुसर्रफ काठमाडौं ओर्लेका थिए । त्यो पनि एक दिन ढिलो गरेर । शिखर सम्मेलन अघि बढेको भन्दै त्यसलाई सफल पार्न त्यो एक दिन कुराएर भए पनि मुसर्रफ काठमाडौं आए । भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीले पनि धैर्यता देखाए । त्यतिबेला उनीहरूबीच भएको मिलन अझै स्मरणयोग्य छ ।

तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हाल संघीय संसद् भवन) मा भएको त्यो मिलन र सभ्य भाषामा भएको छेडछाड आफैंमा प्रशंसनीय थियो । काठमाडौंबाट नै त्यो वार्ता अघि बढेको थियो । हुन त त्यसअघि मे २००१ भारतको आग्रहमा भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफको भेटवार्ता उपलब्धि हुन नसक्दा यसको ब्रेक थ्रु सन् २००२ मा काठमाडौंबाट भएको थियो । स्मरणीय रहोस् फेब्रुअरी १९९९ भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयी नै पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेटेर शान्ति सम्झौता गर्ने भन्दै बस चढेर पाकिस्तानको लाहोर पुगेका पनि थिए ।

कतिपयले सार्क अध्यक्ष मुलुक नेपालले भारत र पाकिस्तानको वार्ता गराउन सक्ने धारणा पनि सार्वजनिक गरेका छन् । अर्काथरि विश्लेषकले भने दुवै पक्षले पत्याउन सक्ने नेतृत्वले मात्र यस्ता कार्य गर्नसक्ने धारणा राखेका छन् । विश्वमा नै यस्तो नेतृत्वका अभाव हुँदै गएको छ । हुन त, चार वर्षअघि काठमाडौंमा सम्पन्न १८ औं शिखर सम्मेलनमा पनि भारत र पाकिस्तानका प्रधानमन्त्रीहरू के गर्लान् भन्ने नै थियो ।

राष्ट्रिय सभा गृहको होल्डिङ रुममा नरेन्द्र मोदी र नवाज सरिफले हात मिलाउँदा समाचार बनेको थियो । धुलिखेलमा भएको रिट्रिटमा उनीहरूले दुईपक्षीय मामिलाबारे छलफल नै गरे । यसरी प्रधानमन्त्री स्तरमा हुने छलफलले बेलाबेलामा सम्बन्धलाई सकारात्मक मोड दिने गरे पनि यिनै नेतृत्वको छायामा परेको छ सार्क । अनि नेपाल, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तानले पनि उनीहरूलाई अघि बढाउन सकेका छैनन् ।

आरोप प्रत्यारोप

स्वतन्त्र भएको दुई महिनादेखि नै भारत-पाकिस्तानबीच लगातार तनाव चलिरहँदा भारतीय सेनाको सहयोगमा सन् १९७१ तत्कालिन पूर्वी पाकिस्तान स्वतन्त्र बन्यो । अनि नयाँ मुलुक बंगलादेश जन्मियो । भारत र पाकिस्तानको सम्बन्धको तिक्तताको परिणाम नै हो बंगलादेश ।
पूर्वी पाकिस्तानको समस्या समाधान भए पनि समस्याको जरो काश्मीरले दुवैलाई सताइरहेको छ । मुस्लिम बाहुल्य भएको उक्त क्षेत्रलाई तत्कालीन राजा हरि सिंहले भारतको अंश हुनुपर्ने निर्णय लिए । जसको कारण त्यसपछि काश्मीरको विषयमा द्वन्द्व भयो । मुसलमान बाहुल्य उक्त राज्यका महाराजाले लिएको निर्णयलाई मुस्लिमहरूले स्वीकार्न नसकेपछि समस्या झन् जकडियो । अनि भारतीय र पाकिस्तानी फौज काश्मिरको नियन्त्रणका लागि लड्न थाले । युद्ध नै घोषणा तीन पटक भए पनि यसको अन्य फाटफुट आक्रमण धेरै भएका छन् । पहाडी र हिमाली क्षेत्र भए पनि सम्बन्धका हिसाबले यो क्षेत्र सधैं तातिरहन्छ ।

शान्तिको संकेत

आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई पाकिस्तान भारतीय पक्षलाई बुझाउने निर्णयले सम्बन्धमा निकटता ल्याएको छ । भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमान्डरलाई भारत र पाकिस्तानको सिमाना रहेको बाघा-अटरी बोर्डरमा ल्याइसकिएको छ । जेनेभा अभिसन्धिअनुसार अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई जिम्मा लगाउने प्रक्रिया आरम्भ भएको थियो ।

पाइलट वर्तमानलाई अटारी सीमामा पन्जावका मुख्यमन्त्री अमरिन्दर सिंहले स्वागत गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत बुधबार उनले उडाएको मिग-२१ लडाकु जेटलाई पाकिस्तानी सेनाले खसालेपछि प्यारासुटबाट ओर्लिएका अभिनन्दनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । लगत्तै भारतले पाकिस्तानलाई सुरक्षित रूपमा रिहा गर्न भारतले आग्रह गरेको थियो । यदि अस्वीकार गरे जुनसुकै कदम चाल्न पनि पछि नहट्ने चेतावनी दिएको भारतलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले युद्धमा नजाने संकेतस्वरूप पाइलट फिर्ता गरिएको विश्लेषण बाहिर आएको छ ।

दुई मुलुकबीच भएका द्वन्द्व र युद्ध

हुन त भारत र पाकिस्तान स्वतन्त्र भएको दुईमहिनापछि नै युद्ध आरम्भ भएको हो । भारत र पाकिस्तान स्वतन्त्र भएको ७१ वर्ष पुग्दा समेत उनीहरू एक आपसमा लडिरहेकै छन । तीन युद्ध नै भए । सन् १९९९ यता यस्तै हमलाहरू भइरहेको भएपनि आपसी युद्ध भने भएको छैन । पछिल्लो घटनादेखि आरम्भसम्मका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आएको तथ्यको आधारमा तय सूची ।

२०१९: पाकिस्तानमा रहेको जैश ए मोहम्मद समूहद्वारा अर्धसैनिक बल सीआरपीएफका ४० जनाको ज्यान जानेगरी काश्मीरको पुलवामा विद्रोहीद्वारा आत्मघाती विस्फोट । त्यसको दुई सातापछि भारतद्वारा जवाफी कारबाही । अनि चर्कियो दुईपक्षीय द्वन्द्व ।

२०१६: काश्मीरको उरीमा रहेको भारतीय सैन्य अखाडामा विद्रोहीले हमला गर्दा १९ सैनिकको मृत्यु । भारतद्वारा पाकिस्तानी काश्मीरमा सैन्य कारबाही (अहिलेकै जस्तो) । अनि त्यही वर्ष काश्मीरको पठानकोटस्थित भारतीय वायुसेनाको अखडामा आक्रमण । चार दिन लामो आक्रमणमा जारी दुवैतर्फ हताहत ।

२००८: मुम्बई हमला । रेलवे स्टेसन, होटेलहरूमा आक्रमण । चारदिने उक्त घटनामा झन्डै दुई सयको मृत्यु । पाकिस्तानमा रहेको लश्कर ए तोइबा समूहले गराएको भारतीय दाबी ।

२००७: मुम्बई हमलाको अघिल्लो वर्ष भारत र पाकिस्तान आउजाउ गर्ने रेलमा बम विस्फोट । ६८ को जानको ज्यानसमेत गयो ।

२००१: काश्मीरको विधानसभामा आक्रमण गर्दा ३८ जनाको मृत्यु । त्यसको दुई महिनापछि दिल्लीस्थित भारतीय संसद्मा सशस्त्र आक्रमण । १४ जनाको मृत्यु ।

१९९९: पाकिस्तानी सेनाले विद्रोहीसँग मिलेर कारगिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा गरेपछि छोटो लडाइँ नै भयो । भूभागको विषय भएकाले यो लडाइँमा पाकिस्तान पछि सर्‍यो । त्यसपछि युद्ध भएको छैन ।

१९७१: पूर्वी पाकिस्तानको स्वतन्त्रताको लडाइँमा आरम्भ । ठूलो युद्ध अनि भारतको समर्थन । भारतीय सेनाको साथ अनि वायुसेनाद्वारा पाकिस्तानमा बमबारी गरेपछि पूर्वी पाकिस्तान छुट्टिएर अहिलेको बंगलादेश नै बन्यो ।

१९६५  :काश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबीच लामो लडाइँ । स्वतन्त्रतापछिको पहिलो लडाइँ थियो ।

पुलवामा हमला गरेपछि आतंककारी समूहलाई सिध्याउन भन्दै भारतले ती क्षेत्रमा आक्रमण गरेको हो । दुई सातापछि भारतले त्यहाँ आक्रमण गर्‍यो । भारत- पाकिस्तान सीमा नै उल्लंघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण गरेकोले आफूहरूले जवाफी कारबाही गरेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जनाए । उनले आफूले युद्ध नचाहेको तर सार्वभौकितामाथि आच आउन नदिने धारणा पनि राखे । भारतले आफूले गरेको सर्जिकल स्ट्राइकमा लडाकु समूह जैश-ए-मोहम्मदको शिविर नष्ट गरिएको दाबी छ ।

No comments:

Post a Comment