Covid-19 Update

Wednesday, October 17, 2018

रेसिपी: खसी, कुखुराको मासु र स्वादिला शाकाहारी परिकार बनाउने विधि


काठमाडौं - दशैं भेटघाट, खानपिन र रमाइलोको चाड हो । दशैंको मौकामा आफ्ना आफन्त र साथीभाइलाई मिठो मसिनो ख्वाउने सबैको चाहना हुन्छ । तपाईंको यो चाहना सायद पूरा हुनसक्छ । यसका लागि मुलुकको अग्रणी पाँचतारे होटल डेल अन्नपूर्णका एक्जेक्युटिभ सुस सेफ सन्तोष सुवेदी केसीले खानालाई स्वादिष्ट बनाउने केही टिप्स एण्ड ट्रिक्सदिएका छन् । यसपटक भिन्न स्वादको दशैंको खान्की पस्कन चाहनुहुन्छ भने यी विधि अपनाउनुहोस् ।

१. खसीको फिला: बनाउने समय: ५५ मिनेट मिल टाइप: नन भेज  
आवश्यक सामग्री: ३ केजी खसीको खुट्टा, नेपाली लसुन ६ पोटी, ३ चम्चा सोपको धुलो, भुटेको तोरीको तेल, नुन र मसलाको पेस्ट, मरिचको धुलो, तेजपत्ता, ३० ग्राम दही
पकाउने विधि: पहिला खसीको खुट्टालाई चिरा चिरा पार्नुहोस् । अब मसलाको पेस्ट र लसुनलाई मासुको भित्र सम्म पुग्ने गरी मोल्नुहोस् । त्यसमाथि तोरीको तेल र तेजपत्ता हालेर फ्रिजमा रातभरि छाडिदिनुस् । त्यसलाई पकाउने समयमा रूम टेम्प्रेचरमा ल्याउनुहोस् । ओभनलाई २ सय २० डिग्री सेन्टिग्रेटसम्म प्री हिटगर्नुहोस्। किचन स्ट्रिङ (धागो)ले मासुलाई खुकुलो गरेर बाध्ने । त्यसपछि रोस्टिङटिन माथि सुरूमा सुकेको मसला राख्ने र त्यस माथि मासु राख्ने । अब त्यसलाई २५ मिनेट सम्म पकाउनुहोस् । अब ओभनको तापक्रम १ सय ८० डिग्री सेन्टिग्रेटसम्म ल्याउने ।
अब ओभनबाट मासु निकाल्नुस् । र त्यसलाई अल्मुनियम फोइलले १५ देखि २० मिनेटसम्म छोप्नुहोस् । अब स्वादिष्ट खसीको फिला तयार भयो ।
रेसिपी: खसी, कुखुराको मासु र स्वादिला शाकाहारी परिकार बनाउने विधि

२.  खसीको पक्कु: पाक्नका लागि समयः तीन घण्टा, मिल टाइपः नन भेज
आवश्यक सामग्री: हड्डी नभएको खसीको मासु, बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन, तेजपात, दालचिनी, ल्वाङ, सुकमेल, स्टारानिस, तोरिको तेल, ल्वाङ, सुकमेलको धुलो
पकाउने विधि: अघिल्लो दिन ससानो टुक्रा पारेको मासुमा बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन र तोरीको तेल हालेर मासुलाई राम्रोसँग मोलेर राख्ने, मोलेको एक घण्टासम्म कोठाको तापक्रममा राखेपछि मात्र फ्रिजमा राख्ने
सबैभन्दा पहिले बाक्लो पिँध भएको कसौडी तताएर थोरै तोरीको तेल हालेर तेजपात, दालचिनी, ल्वाङ, सुकमेल, स्टारानिस हालेर चलाउने, केही बेरमा मासु हाल्ने र राम्रोसँग चलाउने । त्यसपछि कचौराले ढाक्ने र कचौरामा पानी हाल्ने । यसलाई सानो आँचमा पकाउनुपर्छ ।  कचौराको पानी नसुकुञ्जेल यसलाई बिर्सिए पनि हुन्छ । जब पानी सुक्छ, त्यसपछि राम्रोसँग चलाउने र ल्वाङ सुकमेलको धुलो राखेर छोपेको पाँच मिनेटमा यो पाक्छ ।

३. खसीको झोलः पाक्नका लागि समयः एक घण्टा, मिल टाइपः नन भेज
आवश्यक सामग्री:सानो टुक्रा बनाइएको खसीको मासु, बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन, तोरीको तेल, पोलेर ससाना टुक्रा पारेर काटिएको अदुवा, लसुन, प्याज र गोलभेंडा
पकाउने विधि: पकाउनु दुई घण्टाअघि मासुमा बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन र तोरीको तेल हालेर मोल्ने अर्थात् मेरिनेट गर्ने ।
त्यसपछि बाक्लो पिँध भएको कसौँडीमा तेल हालेर पोलर काटेर राखिएको प्याज, अदुवा, लसुन हाल्ने र केही बेर चलाउने । त्यसपछि मासु हालेर चलाउने । मासु भुटेको आधा घण्टापछि गोलभेंडा हाल्ने र मनतातो पानी हालेर छोपिदिने र नपाकुञ्जेलसम्म पकाइराख्ने ।

४. कुखुराको मासुः पाक्ने समयः २५ मिनेट, मिल टाइपः नन भेज
आवश्यक सामग्री: बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन, तोरीको तेल, मेथी, हरियो धनियाँ, रातो खुर्सानी, पोलेर ससाना टुक्रा पारेर काटिएको अदुवा, लसुन, प्याज र गोलभेंडा, हरियो खुर्सानी
पकाउने विधि: सबैभन्दा पहिले कुखुराको मासुमा बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन र तोरीको तेल हालेर मोल्ने अर्थात् मेरिनेट गर्ने ।
बाक्लो कराईमा थोरै तेल हाल्ने र तेल तातेपछि मेथी र रातो खुर्सानी हालेर चलाउने, मेथी हल्का खेरो भएपछि त्यसमा पालेर काटिएको खुर्सानी, प्याज, लसुन हाल्ने, त्यसपछि मासु हाल्ने र चलाउने, हरियो धनियाँ हाल्ने, मेरिनेट गर्दा राखिएका सबै मसला र टिम्मुरको धुलो थोरै हाल्ने र चलाउने, त्यसपछि मनतातो पानी हालेर पाक्न दिने ।

५. कुखुरा तारेकोः पाक्ने समयः आधा घण्टा, मिल टाइपः नन भेज
आवश्यक सामग्री: कुखुराको मासु, हरियो खुर्सानी, धनियाँ, नुन, मैदाको पिठो, टिम्मुरको धुलो, तेल
पकाउने विधि: कुखुराको मासुमा हरियो खुर्सानी, धनियाँ, नुन, मैदाको पिठो, टिम्मुरको धुलो, अलिकति तेल हालेर मोल्ने
त्यसलाई तातिराखेको तेलमा हाल्ने र १५-२० मिनेटसम्म तोरेर निकाल्ने

६. मूलाको अचारः बनाउने समयः १५ मिनेट, मिल टाइपः भेज
आवश्यक सामग्री: मूला, उसिनेको आलू, कागतीको रस, भिजाएको सानो केराउ, प्याज, हरियो खुर्सानी, धनियाँ, टिम्मुरको धुलो
पकाउने विधि: सानो टुक्रामा काटिएको मूलामा उसिनेको आलू, कागतीको रस, भिजाएको सानो केरा, प्याज, हिरयो खुर्सानी, हरियो धनियाँ, टिम्मुरको धुलो हालेर मोल्ने ।
र सानो भाँडामा तोरीको तेल हाल्ने र तातेपछि मेथी हाल्ने, मेथी रातो भएपछि, बेसार हाल्ने र त्यो तेल माथि मोलिएको अचारमा झान्ने र मोल्ने ।

७. आलु तारेकोः पाक्ने समयः ४५ मिनेट, मिल टाइपः भेज
आवश्यक सामग्री: आलु उसिनेर काटेको, मेथी, जिराको गेडा, धनियाँको गेडा, रातो खुर्सानी, जिराको धुलो, बेसार, खुर्सानीको धुलो, नुन, टिम्मुरको धुलो
पकाउने विधि: बाक्लो पिँध भएको कराईमा अलि धेरै तेल हाल्ने र तातेपछि मेथी, जिराको गेडा, धनियाँको गेडा, रातो खुर्सानी हाल्ने र उसिनेर लामो पिस गरेर काटेको आलू हाल्ने
बाहिरी पत्र खरो हुनेगरी तार्ने, त्यसपछि जिराको धुलो, बेसारको धुलो, खुर्सानीको धुलो, नुन हालेर बिस्तारै चलाउने र झिक्नुअघि टिम्मुरको धुलो छर्किने, यसलाई धेरैले टिम्मुरे आलु अथवा मुस्ताङ आलुसमेत भन्ने गर्छन् ।

८. मटन बिर्यानी: पाक्ने समय: १ घण्टा मिल टाइप: नन भेज
आवश्यक सामग्री: मटनः १ केजी, प्याजः ५ सय ग्राम, लसु्नः ४५ ग्राम, अदुवाः ४५ ग्राम, तेजपत्ताः केही मात्रा, गरम मसलाः २० ग्राम, केशरः २५ एमएल, घिउः ५० ग्राम, नुनः स्वाद अनुसार
पकाउने विधि: यसमा मासु १ केजीलाई आधार बनाइएको छ । घरको आवश्यकता अनुसार मासु थप-घट गर्नुपर्ने हो भने त्यसको लागि आवश्यक अन्य सामाग्रीहरु पनि त्यही अनुपातमा थप-घट गर्नुपर्छ । सबैभन्दा पहिले भाँडोमा ५० ग्राम जति घिउ राखेर तताउनुहोस् । घिउ तातेसँगै प्याजलाई रातो हुँदासम्म फ्राईगर्नुपर्छ । यसपछि भाँडोमा मासु राख्ने। मासु राखेपछि लसुन र अदुवा तथा गरम मसला राखेर केही बेर पकाउनु पर्दछ ।
त्यसपछि ७ देखि ८ गिलास पानी राखी भाडोले छोप्ने । मासु राम्रोसँग पाकेपछि झोल र पिस लाई छुट्याउने। यसो गर्दा झोल ३ गिलास जति हुनु पर्छ । यदी यो भन्दा कम झोल भयो भने पानी थप्ने र बढी भयो भने केही बेर पकाएर घटाउनु पर्छ ।

मटन बिर्यानीको लागि भात पनि आवश्यक पर्दछ । त्यसैले चामललाई नुन राखी उसिन्ने। भात राम्रोसँग नपाक्दा सम्म पकाउने। यसपछि भातमा रहेको पानी हटाई सुख्खा बनाउने । अघि पाकेको मासु र भातलाई मिसाउने । जसमा रोज वाटरपनि राख्ने। भातमाथि धनिया र स्याफ्रोनको पात छर्ने। त्यसलगत्तै सबै मोल्ने । यसपछि केही बेर पकाउने। खानका लागि मटन बिर्यानी तयार भयो ।

No comments:

Post a Comment