Covid-19 Update

Thursday, August 2, 2018

मोबाइल हरायो भने अब अनलाइनबाटै दर्ता मिल्ने


काठमाडौँ - मोबाइल हराएर त्यसलाई पत्ता लगाउने उपायबारे जानकारी नभएर तनावमा हुनुहुन्छ भने यो खबरले केही राहत मिल्नेछ । हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालयसम्म जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने एउटा बाध्यता अन्त्य हुने भएको छ । 
मोबाइल हरायो भने अब अनलाइनबाटै दर्ता मिल्ने

नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको इक्विपमेन्ट आइडेन्टीटी रजिस्ट्रर (उपकरण पहिचान दर्ता) परियोजना अन्तर्गत हराएको मोबाइल खोज्नका लागि अनलाइनमै दर्ता गर्न सक्ने व्यवस्था लागू गरेको हो । 

तपाईंको पनि मोबाइल हराएको छ भने आफैँले अनलाइनमै दर्ता गर्न सक्नुहुनेछ । त्यसका लागि ईआईआर डट एनटीए डट जीओभी डट एनपी (eir.nta.gov.np) मा लग इन गर्नुपर्नेछ । यसरी लग इन गरिसकेपछि त्यसको तलपट्टी रहेको साइन अप बटन क्लिक गर्नुपर्नेछ ।

त्यसपछि तपाइँलाई दुईवटा विकल्प उपलब्ध हुनेछ । त्यसमध्ये मोबाइल हराएको अवस्थामा रातो रङको पृष्ठभूमिमा लेखिएको इन्डिभिजुअल एप्लिकेसनमा क्लिक गरेपछि त्यहाँ उल्लेख विवरण भर्नुपर्ने छ । 

विवरणमा मोबाइलको आएमईआई, इएसन अथवा एमइआईडी नम्बरमध्ये कुनै एक उल्लेख गर्नुपर्नेछ । त्यस्तै हराएको मोबाइलको ब्रान्ड नाम, मोडल नम्बर पनि त्यहाँ आवश्यक पर्छ । एकै पटक दुईवटा मोबाइल हराएको छ भने पनि त्यसको विवरण भर्न सकिने सुविधा उक्त अनलाइनमा रहेको छ । 

हराएको व्यक्तिले यसरी अनलाइन दर्ता गर्दा आफ्नो नागरिकता, पासपोर्ट अथवा परिचय खुल्ने कार्डको स्क्यान कपी भने राख्नुपर्नेछ । अन्त्यमा इमेल राखेर त्यसलाई सबमिट गरेपछि त्यो खोज्ने प्रक्रियामा अघि बढ्छ । 

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार यसरी प्रयोगकर्ताले उपलब्ध गराएको जानकारी दूरसञ्चार सेवा प्रदायकसम्म पु¥याइन्छ । सेवा प्रदायकले पनि उक्त मोबाइल प्रयोगमा रहेको अवस्थामा पत्ता लगाउन सजिलो हुने भएकोले त्यहाँ पहिले उक्त जानकारी उपलब्ध गराइएको उहाँले बताउनुभयो । 

त्यसपछि उक्त जानकारी अनलाइन मार्फत नै प्रहरीलाई उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । सबै प्रक्रिया अनलाइनमै हुने भएकोले हराएको व्यक्तिले फरक फरक ठाउँमा धाउनुपर्ने समस्या नहुने उहाँले बताउनुभयो । कागजी रूपमा हराएको मोबाइलको दर्ता प्रक्रिया छोट्याएर अनलाइनबाटै छिटो सुविधा उपलब्ध गराउन यसलाई कार्यान्वयनमा ल्याइएको हो, उहाँले भन्नुभयो । 

हराएको मोबाइल पत्ता लागेपछि प्रहरी कार्यालय अथवा प्राधिकरण आफैले सम्बन्धित व्यक्तिलाई जानकारी गराइदिने व्यवस्था हुने पनि प्रवक्ता अर्यालले बताउनुभयो । प्राधिकरणले अनलाइनबाटै दर्ता सुरु गरे पनि यो अझ पूर्ण रूपमा तयार हुन केही बाँकी रहेको उहाँले जानकारी दिनुभयो । 

प्रयोगकर्ताले उपलब्ध गराएको जानकारी अपुरो रहेमा अनलाइनमार्फत नै सचेत गराउने व्यवस्था पनि यसमा गरिएको छ । यसबाहेक मोबाइल ब्लक गर्नुपर्ने र ट्रयाक गर्नुपर्ने भएमा पनि त्यसको सुविधा यसमा थप गरिएको छ ।

No comments:

Post a Comment