Covid-19 Update

Monday, May 7, 2018

फिफा विश्वकप २०१८ फुटबलमा कुन रंगशालामा कुन-कुन राष्ट्र बीच प्रतिस्पर्धा ?


रुस एजेन्सी - विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल जेठ अन्तिम साताबाट रुसमा हुँदैछ । जेठ ३१ गते रुसको राजधानी मस्कोमा विशेष कार्यक्रमका बीच फिफा विश्वकप फुटबलको उद्घाटन हुनेछ ।
लजनिकी रंगशाला

खेलकुद प्रेमीहरुको विशेष पर्खाइमा रहने विश्वकप फुटबलको २१ औँ संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिसकेको छ । यस्तै, फिफा विश्वकपको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

विश्वकपको उद्घाटन खेलमा २०१८ जुन १४ (जेठ ३१) का दिन लजनिकी रंगशालामा आयोजक रुसले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । पहिलो दिन उद्घाटन खेलमात्र हुनेछ । समूह चरणको अन्य खेल असार १ गतेबाट हुनेछ ।

विश्वकपको अन्तिम १६ अर्थात् नकआउट चरणका खेलहरु असार १६ देखि असार १९ सम्म हुनेछ । त्यसैगरी क्वाटरफाइनल खेल असार २२ र २३ गते सञ्चालन हुँदा सेमिफाइनल खेल असार २६ र २७ मा हुनेछ । विश्वकपको तेस्रो स्थानको लागि असार ३० मा खेल हुँदा असार ३१ मा फाइनल खेलसँगै एक महिने फुटबलको कुम्भमेला सकिनेछ ।

विश्वकप नजिकिँदै गर्दा पछिल्लो समय विश्वकप आयोजना हुने रंगशालाको चर्चा चल्न सुरु गरेको छ । विश्वकपको लागि रुसले रंगशालाको तयारी कसरी गरिरहेको छ ? रंगशालाको अवस्था कस्तो छ ? दर्शक क्षमता कस्तो छ ? कस्तो प्रविधिमा रंगशालामा बन्दैछ भन्ने कौतूहल आम खेल प्रेमीहरुमा चासोको बिषय बनेको छ ।

यो पटक रुसले विभिन्न १२ वटा रंगशालामा विश्वकप खेलहरु आयोजना गर्दैछ । यो पटक १२ रंगशालामा ३२ राष्ट्रको ६५ खेलहरु संचालन हुँदै छ । विश्वकपका लागि भनेर रुसले ५ वटा नयाँ रंगशाला निर्माण गरेको छ । अन्य रंगशाला भने पुनर्निर्माण र विस्तार गरिएको छ ।

विश्वकप आयोजना हुने रंगशाला र खेल यस प्रकार छ
लजनिकी रंगशाला
रुसको यो सबैभन्दा ठूलो रंगशाला हो । राजधानी मस्कोमा अवस्थित यो रंगशाला बनाउन करिब ३५० मिलियन यूरो लागत लागेको थियो । यो रंगशाला विश्वकपलाई लक्षित गर्दै पुनर्निर्माण समेत भएको छ । यो रंगशालामा ८१ हजार दर्शक क्षमता रहेको छ ।
खेल 
रुस विरुद्ध साउदी अरेबिया (उद्घाटन खेल)
जर्मनी विरुद्ध मेक्सिको
पोर्चुगल विरुद्ध मोरक्को
डेनमार्क विरुद्ध फ्रान्स
अन्तिम १६ अन्तर्गत समूह बि विजेता विरुद्ध समूह ए उपविजेता
दोस्रो सेमिफाइनल
फाइनल खेल

क्रेस्टोस्की रंगशाला (सेन्ट पिटर्सबर्ग)
रुसको यो दोस्रो ठूलो रंगशाला हो । यो रंगशालामा विश्वकपको तयारीको रुपमा सम्पन्न भएको कन्फिडेरेशन कपको फाइनल र केही समूह चरणको खेल सम्पन्न भएको थियो । सेन्ट पिटर्सबर्गमा रहेको यो मैदान सुविधा सम्पन्न रंगशाला हो ।
यो क्रेस्टोस्की रंगशालाको दर्शक क्षमता ६८ हजार १ सय ३४ रहेको छ । विश्वकपको लागि यो रंगशाला पूर्णरुपमा तयार भइसकेको छ ।
खेल 
मोरक्को विरुद्ध इरान
रुस विरुद्ध इजिप्ट
ब्राजिल विरुद्ध कोस्टारिका
नाइजेरिया विरुद्ध अर्जेन्टिना
अन्तिम १६ अन्तर्गत समूह एफ विजेता विरुद्ध समूह ए उपविजेता
पहिलो सेमिफाइनलमा
तेस्रो स्थानको लागि हुने खेल

फिस्ट ओलम्पिक रंगशाला
रसियाको सोचीमा अवस्थित यो फिस्ट ओलम्पिक रंगशाला लागतको हिसाबले पनि निकै महंगो रंगशाला हो । सन् २०१३ सालमा निर्माण सम्पन्न भएको यो रंगशाला ४७ हजार ६ सय ५९ जना दर्शक क्षमता छ । तर, विश्वकपपछि भने यो रंगशालाको क्षमता ४० हजार हुनेछ । यो रंगशाला निर्माणका लागि करिब ७७९ मिलियन डलर लागेको छ ।
खेल 
पोर्चुगल विरुद्ध स्पेन
बेल्जियम विरुद्ध पानामा
जर्मनी विरुद्ध स्वीडेन
अष्ट्रेलिया विरुद्ध पेरु
अन्तिम १६ अन्तर्गत समूह ए विजेता विरुद्ध समूह बि उपविजेता
चौथो क्वाटरफाइनल

सेन्ट्रल रंगशाला
रसियाको एकाटरिनबर्गमा अवस्थित रहेको यो सेन्ट्रल रंगशाला निकै पुरानो रंगशाला हो । सन् १९५७ मा बनेको यो रंगशाला पटक पटक पुनर्निर्माण हुँदै आएको छ । विश्वकपको लागि लक्षित गर्दै सन् २०१४ देखि निर्माण कार्य थालिएको छ ।
विश्वकपको लागि भनेर दर्शक क्षमता पनि बढाइएको छ । करिब ३५ हजार ६ सय ९६ जना दर्शक क्षमताको विश्वकपमा हुनेछ । विश्वकपपछि भने यो रंगशालाको दर्शक क्षमता २३ हजारको हुनेछ ।
खेल 
इजिप्ट विरुद्ध उरुग्वे
फ्रान्स विरुद्ध पेरु
जापान विरुद्ध सेनेगल
मेक्सिको विरुद्ध स्वीडेन

कजान एरिना
यो रंगशाला रसियाको कजानमा अवस्थित छ । यो रंगशाला २०१३ सालमा खुला भएको हो । करिब ४५ हजार ३ सय ७९ दर्शक क्षमता रहेको छ । विश्वकपको लागि यो रंगशाला पूर्णरुपमा तयारी अवस्थामा रहेको छ ।
खेल
फ्रान्स विरुद्ध अष्ट्रेलिया
इरान विरुद्ध स्पेन
पोल्याण्ड विरुद्ध कोलम्बिया
दक्षिण कोरिया विरुद्ध जर्मनी
अन्तिम १६ अन्तर्गत समूह सी विजेता विरुद्ध समूह डी उपविजेता
दोस्रो क्वाटरफाइनल

ओक्रिटाई एरिना (स्पार्टक)
रसियाको राजधानी मस्कोको टुसिनो शहरमा अवस्थित ओक्रिटाई एरिना रंगशाला निकै आकर्षक डिजाइनमा बनेको छ । करिब ४३० मिलियन अमेरिकन डलर यो रंगशाला निर्माणमा लागेको छ ।
२०१४ देखि खुला भएको यो रंगशालाको दर्शक क्षमता ४५ हजार ३ सय ६० रहेको छ । यो विश्वकप फुटबलको लागि पूर्णरुपमा तयारीमा रहेको रंगशाला हो ।
खेल 
अर्जेन्टिना विरुद्ध आइसल्याण्ड
पोल्याण्ड विरुद्ध सेनेगल
बेल्जियम विरुद्ध ट्युनिसिया
सर्बिया विरुद्ध ब्राजिल
अन्तिम १६ अन्तर्गत समूह एच विजेता विरुद्ध समूह जी उपविजेता

कैलिनिङग्राड रंगशाला
रसियाको कैलिनिङग्राडमा रहेको यो रंगशाला विश्वकपको लागि भनेर नै निर्माण गरिएको हो । विश्वकपमा यो रंगशालाको दर्शक क्षमता ३५ हजार २ सय १२ भए पनि विश्वकपपछि भने २५ हजारको हुनेछ ।
खेल 
क्रोएसिया विरुद्ध नाइजेरिया
सर्बिया विरुद्ध स्विजरल्याण्ड
स्पेन विरुद्ध मोरक्को
इंग्ल्यान्ड विरुद्ध बेल्जियम

निज्नी नोव्गोरोड रंगशाला
निज्नी नोव्गोरोड रंगशाला नयाँ रंगशाला हो । विश्वकपलाई लक्ष्य गर्दै निर्माण गरिएको यो रंगशाला ४४ हजार ८ सय ९९ दर्शक क्षमता रहेको छ  । यो रंगशाला उच्च प्रविधियुक्त रहेको छ ।

खेल 
स्वीडेन विरुद्ध दक्षिण कोरिया
अर्जेन्टिना विरुद्ध क्रोएसिया
इंग्ल्यान्ड विरुद्ध पानामा
स्विजरल्याण्ड विरुद्ध कोस्टारिका
अन्तिम १६ अन्तर्गत समूह डी विजेता विरुद्ध समूह सी उपविजेता
पहिलो क्वाटरफाइनल

कोसमोस एरिना
कोसमोस एरिना रंगशाला रसियाको समरा भन्ने ठाउँमा छ । करिब ३२० मिलियन डलर लागतमा निर्माणाधिन अवस्थामा रहेको यो रंगशाला निकै आकर्षक बन्नेछ । करिब ४४ हजार ९ सय १८ दर्शक क्षमता यो रंगशालाको हुनेछ । विश्वकपलाई लक्षित निर्माण गर्दै गरेको यो नयाँ रंगशाला हो ।
खेल 
कोस्टारिका विरुद्ध सर्बिया
डेनमार्क विरुद्ध अष्ट्रेलिया
उरुग्वे विरुद्ध रुस
सेनेगल विरुद्ध कोलम्बिया
अन्तिम १६ अन्तर्गत समूह इ विजेता विरुद्ध समूह एफ उपविजेता
तेस्रो क्वाटरफाइनल

रोस्टोभ एरिना
रोस्टोभ एरिना यो रंगशाला पनि नयाँ हो । यो रंगशाला करिब ४५ हजार दर्शक क्षमता रहेको छ । निकै कलात्मक तरिकाले यो रंगशालाको निर्माण गरिएको छ ।
खेल
ब्राजिल विरुद्ध स्विजरल्याण्ड
उरुग्वे विरुद्ध साउदी अरेबिया
दक्षिण कोरिया विरुद्ध मेक्सिको
आइसल्याण्ड विरुद्ध क्रोएसिया
अन्तिम १६ अन्तर्गत समूह जी विजेता विरुद्ध समूह एच उपविजेता

भोवोल्गोग्राड एरिना
भोल्गोग्राडमा निर्माण भइरहेको भोल्गोग्राड एरिना रंगशालाको निर्माणको कार्य तिब्रगतिमा भई रहेको छ । यो रंगशालाको दर्शक क्षमता करिब ४५ हजार ५ सय ६८ रहेको छ ।
खेल 
ट्युनिसिया विरुद्ध इंग्ल्यान्ड
नाइजेरिया विरुद्ध आइसल्याण्ड
साउदी अरेबिया विरुद्ध इजिप्ट
जापान विरुद्ध पोल्याण्ड

मोर्डोभिया एरिना
मोर्डोभिया एरिना रंगशाला रसियाको सरान्स्क भन्ने स्थानमा रहेको छ । करिब ३०० मिलियनमा निर्माण भएको यो रंगशाला नयाँ हो । यहिवर्ष निर्माण सम्पन्न भएको यो रंगशाला निकै आकर्षक तरिकाले बनाएको छ । मोर्डोभिया एरिना रंगशालाको दर्शक क्षमता ४४ हजार ४ सय ४२ रहेको छ ।
खेल 
पेरु विरुद्ध डेनमार्क
कोलम्बिया विरुद्ध जापान
इरान विरुद्ध पोर्चुगल
पानामा विरुद्ध ट्युनिसिया

बाह्रखरी